काठमाडौं- राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले पटक-पटक संविधान मिच्नेले सार्वजनिक रुपमा जनताका अगाडि माफी माग्नुपर्ने बताएका छन्। उनको भनाइ प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित छ।
उनले अदालतले नै एमाले र माओवादीलाई २०७५ जेठ ३ गते अगाडि फर्क भनेर आदेश दिएपछि त्यसको कार्यान्वयन नगर्नु अदालतको मानहानी भएको टिप्पणी समेत गरेका छन्। देवकोटाले एमाले अध्यक्ष ओलीले गएराति जारी गरेको एकता प्रस्तावलाई लक्षित गरेर जेठ ३ मा फर्कन शर्तवन्देजको आवश्यकता नपर्ने भनेका छन्।
'संविधान, कानून र विधि, पद्धति भत्काएपछि मानहानीको के नै अर्थ रह्योर? अहिले कसैको आदेश र लहडको भरमा चल्ने गरी राज्यका अधिकांश अंगहरुको नटबोल्ट खुकुलो पारिएको छ। संविधान ट्रयाकमा आएपछि ती सबै अंगहरुको नटबोल्टहरु टाइट हुनेछन्', देवकोटाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'राज्यका अंगहरुले काम गर्न थालेपछि जेष्ठ ३ मा फर्कन शर्तवन्देजको आवश्यकता पर्दैन। स्वत : क्रियाशील हुनेछन्/गर्नुपर्नेछ।'
उनले आन्दोलनले उचाई प्राप्त गर्न थालेपछि र विजयउन्मुख भएपछि विभिन्न प्रलोभन देखाइने तथा पासा फालिने गरेको बताएका छन्। साथै, उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै गरिएको हस्ताक्षर फिर्ता लिनु बेइमानी हुने बताएका छन्।
'नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानीपूर्ण आन्दोलन लगायतबाट प्राप्त संविधानलाई बन्धकीमा राखी कुनै पनि माननीयज्यूहरुले हस्ताक्षर फिर्ता लिनु हुँदैन। फिर्ता लिनु बेइमानी हो', देवकोटाले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।