काठमाडौं– जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमालेको माधव नेपाल पक्षलाई पार्टी एक भएमा अध्यक्ष केपी शर्मा ओलीका सबै गलत कदम माफ हुन्छन्? भन्दै प्रश्न सोधेका छन्।
नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पार्टी एकताका लागि २०७५ जेठ २ मा लैजान तयार भएको घोषणा गरेपछि बाबुरामले प्रश्न गरेका हुन्।
भट्टराईले आइतबार राति सामाजिक सञ्जालमा एमालेका नेतालाई प्रश्न गर्दै पार्टी पुरानो अवस्थामा फर्के पनि संसद विघटनलगायत ओलीको सात खत माफ गर्न नहुने संकेत गरेका हुन्।
‘एमाले कणहरूसँग जिज्ञासा ः तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चुल्होमा बाक्लो दालसहित भात भान्सा गरेमा त्यसयता ओलीले गरेका २÷२ पटकका संसद विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यति–ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार, सांसद अपहरण, कोरोना पीडित लाखौंको बिचल्ली र अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?,’ उनले यसरी सोधेका छन्।
एमालेभित्र विवाद बढेर फुटको संघारमा पुगेको अवस्थामा आएको ओलीको यस्तो धारणाले अन्य दलमा समेत प्रभाव पार्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।