काठमाडाैं- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नै पार्टी जनता समाजवादी पार्टी (जसपा)का चारजना मन्त्रीलाई बर्खास्त गरेका छन्।
राउतले आफ्नो मन्त्रिमण्डलका सदस्यहरु जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई मन्त्रीबाट बर्खास्त गरेको जसपा नेता मोहम्मद इस्तियाक राईले बताए।
बर्खास्त गरिएका चारै जना जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका हुन्।
बर्खास्त गरिएका सोनल भौतिक पूर्वाधार मन्त्री थिए भने झा भौतिक पूर्वाधार राज्यमन्त्री थिइन्। त्यस्तै शर्मा सामाजिक विकास राज्यमन्त्री र मण्डल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री थिए।
जसपा प्रदेश सभा संसदीय दलको आइतबारको बैठकले राउतलाई दलको नेता चयन गरेको थियो।
जसपाका नेता राईले नेपाली कांग्रेसले प्रदेश सरकारमा सामेल हुने निर्णय गरिसकेको र माओवादी केन्द्रले सोमबार बिहानसम्म सरकारमा सामेल हुने निर्णय गर्ने बचन दिएको बताए।
केन्द्रकै गठबन्धनअनुसार प्रदेश सरकारमा पनि गठबन्धन गर्ने सहमति भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।