सर्वोच्चको आदेशानुसार पुनर्वहाली भएका जनमोर्चाका सांसद कृष्ण थापा
काठमाडौं– सर्वोच्च अदालतले जनमोर्चाका कृष्ण थापालाई सांसद पदमा थमौती गरेपछि विपक्षी गठबन्धनको बैठक डाकिएको छ।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र जनमोर्चाको संयुक्त बैठक सोमबार बिहान बस्ने भएको हो।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नपाउने भएपछि संविधानको धारा १६८ (५) अनुसार विपक्षी दलले सरकार बनाउने तयारी गरेका थिए।
जनमोर्चा सांसद थापालाई हटाएपछि विपक्षीको बहुमत पुग्ने आधार बनेको थियो।
पार्टीको ह्यीप उल्लंघन नगरेको आधार देखाएर पार्टी विपरीत नगएको उनको दाबी थियो। आफ्नो दाबी अनुसार नै थापाले पुन: सांसदको रुपमा काम गर्ने पाउने भएका छन्।
मुख्यमन्त्री गुरुङले जेठ २७ मा लिने विश्वासको मतको विपक्षमा मतदान गर्न दलले उनलाई फेरि ह्यीप जारी गर्नेछ। त्यसबेला दलको निर्णय विरुद्द उनले गुरुङलाई मत दिए भने पार्टीले फेरि कारबाही गर्ने सम्भावना छ।
मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाउने र थापा फेरि कारबाहीमा परे भने विपक्षी दलले ३० सांसदको बहुमत सङ्ख्या सहित सरकारको दाबी गर्नसक्छन्।
'थापा संसद्मा फर्के पनि मुख्यमन्त्री गुरुङले भने बहुमत पुर्याउन सक्दैनन्। १६८ (५) अनुसार सरकार बनाउन सकिने सबै विकल्पमा बारेमा छलफल गर्छौं, ' कांग्रेस सांसद विष्णु लामिछानेले भने, 'वैकल्पिक सरकारको प्रयास अन्तिमसम्म जारी राख्छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।