काठमाडौ- प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइ सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।
आइतबार इजलासका दुई जना न्यायाधीशमाथि सरकारपक्षका कानुन व्यवसायीहरुले प्रश्न उठाएपछि मुख्य मुद्दामा बहस हुन पाएन। जसकारण उक्त रिटमाथिको सुनुवाइ सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको हो।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठ न्यायाधीशहरुको मर्यादाक्रमअनुसार संवैधानिक इजलास तोकेका थिए। प्रधानन्यायाधीश राणासहित, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलास गठन भएको थियो।
सरकारीपक्षका कानुन व्यवसायीले संवैधानिक इजलासको रोष्टरमा रहेका ११ न्यायाधीशले हेर्न नमिल्ने भनी निवेदन दर्ता गराएका छन्। प्रधानन्याधीश राणाले निवेदन फिर्ता लिन आग्रह गरे पनि उनीहरुले दर्ता गर्ने अडान छाडेनन्। प्रधानन्यायाधीश राणाले निवेदन फिर्ता नलिए अवहेलनामा कारबाही हुनसक्ने चेतावनीसमेत दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।