काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई दिएको समर्थन फिर्ता लिएको छ। यसअघि सरकारबाट बाहिरिएपनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन।
आइतबार भने मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ताको पत्र संसद् सचिवालयमा बुझाएको माओवादी केन्द्रका सचेतक इन्द्र आङबोले बताए।
‘हामीले सरकारबाट बाहिरिए लगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने भएपनि कोरोना भएकाले लिन पाएका थिएनाैं’, आङबोले भने, ‘आज आधिकारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद् सचिवालयमा दर्ता गराएका छौ।’
प्रदेश १ मा कूल ९३ जना प्रदेश सभामध्ये एमाले ५१ जना र माओवादी १५ जना सदस्य छन्। एमालेको एकल बहुमत भएपनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असहयोग गरेकाले मुख्यमन्त्रीलाई समस्या पर्ने देखिएको छ।
माओवादीले समर्थन फिर्ता लिए पछि नेपाल पक्षबाट सहयोग नपाए मुख्यमन्त्रीलाई आफ्नो पद जोगाउन समस्या हुने देखिएको छ। मुख्यमन्त्री राई एमालेभित्र अल्पमतमा भएकाले प्रदेश सभा बैठक छल्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।