काठमाडौं- निवर्तमान कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले कृषि मन्त्रालयको शाख कृषि मलको सहज उपलब्धतामा जोडिएकाले अभाव हुन नदिनका लागि सबै लाग्न अनुरोध गरेकी छन्।
आइतबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा बोल्दै निवर्तमान कृषिमन्त्री अर्यालले मल बहुसरोकारको विषय भएकाले आपुर्तिमा निरन्तर अनुगमन गर्न आग्रह गरिन्।
सरकारले किसानलाई दिने अनुदान पनि बढाएको उल्लेख गर्दै उनले अनुदानको रकम किसानले नपाउने अवस्था हुन नहुने बताइन्। ‘कृषि मन्त्रालय भनेपछि मल छ कि छैन, यो सरोकारको विषय रैछ। सरकारले पनि अब अनुदान बढाएर १३ अर्ब पुर्याएको छ', अर्यालले भनिन्, 'मैले निर्देशनको रुपमा होइन, एउटा जिम्मेवार नागरिकको हैसियतले भन्छु, मलको अभाव नहोस्। हामीले जे प्रोसेस अगाडि बढायौँ त्यसलाई सफल बनाउन तपाईंहरु यसमा सचेत भएरै अगाडि बढ्नुहोला।’
निवर्तमान कृषिमन्त्री अर्यालले किसान आयोगले पार्टीको घोषणा पत्रमा बोलेका कुराहरुलाई सरकारको नीति, कार्यक्रममा सम्बोधन गराउने र किसानका समस्याहरुलाई समाधान गराउने दिशातर्फ अघि बढ्न पनि आग्रह गरिन्।
अर्यालले जिम्मेवारीमा कतिसमय रहिन्छ भन्दा पनि जिम्मेवारीमा रहँदा के काम गरिन्छ भन्ने कुरा महत्व हुने भन्दै आफूले गर्न खोजेको धेरै काम सम्पन्न गर्न सकेकोमा सन्तोष महसुस गरेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।