काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको पक्षमा अन्तरिम आदेश दिएको छ।
सांसदबाट हटाएपछि थापाले सर्वोच्चमा शुक्रबार रिट दायर गरेका थिए। पार्टी नीति उल्लंघन गरेको आरोपमा सांसदबाट हटाइएका थापाले त्यसलाई चुनौती दिँदै अदालत पुगेका थिए।
आफू स्वयं अदालतमा उपस्थित हुन नसकेपछि शुक्रबार वारेसनामामार्फत् रिट दायर गरेका थिए। थापाको रिट आइतबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो।
सर्वाेच्चले सांसद पद नरहेमा थापाको काम कर्तव्य अधिकारमा तत्काल पुग्न सक्ने अपुरणीय क्षति समेतको दृष्टिकोणबाट प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उनको गण्डकी प्रदेश सभा सदस्यको पद रिक्त गर्ने गरी भएका सम्पूर्ण निर्णयहरू कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।