तस्वीर : रासस
काठमाडाैं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले सरकारले यसअघि नै बनाएका नीति तथा योजनालाई कार्यान्वयन गर्नु आफ्नो प्राथमिकता रहेको बताएकी छन्।
आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री चौधरीले सरकारले बनाएका नीति तथा योजना जुन कार्यान्वयन हुन सकेका छैनन् तिनलाई कार्यान्वयन गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएकी हुन्।
उनले महिला, बालबालिका तथा जेष्ठ नागरिकले सरकारबाट पाउनुपर्ने सेवा सुविधालाई छिटो र सहज रुपमा दिलाउन पनि आफूले जोड दिने बताइन्। उनले महिला, बालबालिका, जेष्ठ नागरिक तथा एकल महिलाले राज्यबाट पाउने सुविधा कतिपय स्थानीय निकायको ढिलासुस्तीले गर्दा समयमै नपाएको गुनासो आउने गरेको भन्दै आफ्नो सेवा प्रवाहलाई दुस्तदुरुस्त राख्न आग्रह गरिन्।
मन्त्री चौधरीले समाजमा रहेका विभिन्न कूरिति अन्त्यका लागि ५ वर्षिय रणनीतिक कार्ययोजनाको फाइल सदर गरेर कार्यभार सम्हालेकी हुन्। कार्यभार सम्हाल्दै उनले देशमा विद्यमान दाइजो प्रथा र बालविवाह अन्त्यका लागि काम गर्ने पनि बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।