काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले १९औं पटक मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन्। गत शुक्रबार १८औं पटक मन्त्रिपरिषद् विस्तार गरेका ओलीले तत्काल आफू निकट नेताहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्।
वरिष्ठ नेता माधवकुमार नेपालपक्ष र पूर्व माओवादी समूहका नेताहरुलाई समेत समेट्नु पर्ने भएकाले सबै मन्त्रालय फुल फिल तत्काल नहुने प्रधानमन्त्री निकट एक स्थायी कमिटी सदस्यले बताए।
‘प्रधानमन्त्री ज्यूसँग अझै सात मन्त्रालय छन्। ती मन्त्रालयमा को कोलाई मन्त्री बनाउने भन्ने विषयमा प्रधानमन्त्री ज्यू गृहकार्यमा लाग्नु भएको छ। आज वा भोलिसम्म मन्त्रिपरिषद् विस्तार होला,’ ती स्थायी कमिटी सदस्यले भने, ‘तत्काल मन्त्रिपरिषद विस्तार भएपनि सबै मन्त्री बनाउनु हुन्न जस्तो लाग्छ माधव कमरेड पक्ष र अरु केही नेताहरुपनि सरकारमा आउन इच्छुक भएकाले तत्काल पर्खिने भन्ने छ।’
ओलीपक्षका नेताहरु सरकारमा जान सक्रिय रुपमा लागेका छन्। ओलीपक्षबाट मन्त्रीको दौडधुपमा खगराज अधिकारी, महेश बस्नेत, मोहन बानियाँ, नारदमुनि राना, आशा विश्वकर्मा, सुजिता शाक्य र विमला राई लागेका छन्।
ओलीले नेपालपक्षका नेताहरुलाई आफ्नो पक्षमा तान्न खोजेकाले थोरै मात्रै मन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गर्न सक्ने बताएको छ। ओलीसँग हाल गृह, रक्षा, कृषि तथा पशुपक्षी विकास, सञ्चार तथा सूचना प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन,वन तथा वातावरण र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।