काठमाडाैं– राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाले सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दाको सुनुवाइ न्यायाधीश कुमाल चुडालको इजलासमा हुने भएको छ।
पार्टीले कारबाही गरी सांसदबाट निस्कासित गरेपछि राष्ट्रिय जनमोर्चाका थापाले शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेका थिए।
थापाले आफूलाई पार्टीले असंवैधानिक तरिकाबाट हटाएको भन्दै पद पुनर्स्थापनाको माग गरेका छन्। रिटमा आदेश हुन समय लागेमा अन्तरिम आदेश दिइनुपर्ने मागसमेत थापाको छ।
आफूले नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन २०७३ विपरीत कुनै कार्य नगरेकाले पार्टीले आफूलाई गरेको कारबाही बदरभागी रहेको उनले दिएको रिटमा उल्लेख छ।
सांसद थापाका तर्फबाट वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता ईश्वरी भट्टराई र पाटन उच्च बारका पूर्वअध्यक्ष भोजराज आचार्यले बहस गर्दै छन्।
गण्डकी प्रदेशमा पार्टीको निर्णय विपरीत नयाँ सरकार बनाउन साथ नदिएको भन्दै थापालाई जनमोर्चाले प्रदेशसभा सदस्यबाट हटाएको थियो। थापाले साथ नदिँदा गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर कांग्रेस नेतृत्वमा सरकार बनाउने प्रयास असफल भएको थियो।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आउँदो २७ गते विश्वासको मत लिने तयारी गरिरहँदा प्रदेशसभा सदस्य थापाको मत निर्णायक हुने भएकाले उनको मुद्दालाई महत्त्वका साथ हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।