काठमाडाैं- सत्तारूढ नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले ‘नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने’ भन्ने उपप्रधान एवम् शहरी विकास मन्त्री राजेन्द्र महतोको अभिव्यक्ति राष्ट्रघाती भएको टिप्पणी गरेको छ।
महतोले शनिबार पदभार ग्रहण गरेपश्चात् आफ्नो पार्टी सरकारमा रहुन्जेल ‘बहुल राष्ट्रिय राज्य निर्माणका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ प्रतिक्रिया दिएका थिए।
युवा संघका नवनिर्वाचित अध्यक्ष किरण पौडेलले शनिबार साँझ विज्ञप्ति निकाल्दै महतोको अभिव्यक्ति नेपालको संबिधान २०७२ को भाग १, प्रारम्भिकको धारा ३ मा राष्ट्रबारेमा गरिएको परिभाषाविपरीत भएको जिकिर गरेका छन्।
‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक बिशेषतायुक्त, भौगोलिक बिबिधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियहित तथासमृद्धिप्रती आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो। उनको भनाइ यसको विपरीत छ,’ विज्ञप्तिमा भनिएको छ।
राष्ट्रका बारेमा गरेको परिभाषा नै संविधानमा उल्लेखित परिभाषा भएको र उक्त विषयलाई खण्डित हुन नदिन संघ सदैव क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।