काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ मा विश्वासको मत लिने भएका छन्।
वैशाख २९ मा ठूलो दलको आधारमा मुख्यमन्त्रीमा दोहोरिएका गुरुङले जेठ २८ भित्र विश्वासको मत लिनुपर्ने बाध्यता थियो। चालू संसद्मा गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत नगरी विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री गुरुङले नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत नगरी विश्वासको मत लिन लागेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय सांसद धनञ्जय दवाडीले जानकारी दिए।
शनिबार बसेको कार्य व्यवस्था समितिको बैठकमा विपक्षी दलले नीति तथा कार्यक्रममा प्रस्तुत हुनुपर्ने माग गरेका थिए। दलहरुबीच विवाद भएकै कारण आइतबार बोलाइएको संसद बैठक स्थगित गरिएको छ।
'नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुन्न। २७ मा विश्वासको मत हाम्रो सरकारले नपाए विपक्षीले सरकार बनाउलान्', दवाडीले भने, ' उनीहरूले पनि सरकार बन्न नसके गण्डकी प्रदेश चुनावतिर जान्छ।'
चुनावतिर नजाने भए यही सरकारलाई निरन्तरता दिनका लागि विपक्षी तयार हुनुपर्ने उनको धारणा छ।
विपक्षीका लागि निर्णायक जनमोर्चाका सांसद कृष्ण थापा बनेका छन्। सर्वोच्चले अदालतले आइतबार नै थापाको पक्षमा फैसला सुनाएको अवस्थामा दुवै पक्षको सरकार बन्ने अवस्था रहँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।