काठमाडाैं- नेपाली कांग्रेसबाट दुई मन्त्रीले कर्णाली प्रदेश सरकारको शपथ लिने भएका छ्न्। सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा दीनबन्धु श्रेष्ठले शपथ लिन लागेका हुन्।
सुर्खेतका बिसी र जुम्लाका श्रेष्ठ दुवै समानुपातिक सांसद हुन्। कांग्रेस संसदीय दलको बैठकले मन्त्रीमण्डलमा सहभागी हुने निर्णय गरेको जलस्रोत तथा ऊर्जा मन्त्री हुन लागेका श्रेष्ठले जानकारी दिए। 'संसदीय दलले हामी दुई जनालाई मन्त्रीमण्डलमा सहभागी बनाउने निर्णय गर्यो। आइतबार शपथ हुन्छ,' श्रेष्ठले नेपाल लाइभसँग भने।
गत निर्वाचनपछि कांग्रेसको सरकारमा प्रवेश कर्णालीबाट हुने भएको छ।
एमालेले चैतको पहिलो साता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो। वैशाख ३ गते विश्वासको मत लिने क्रममा शाहीको पद एमालेको माधव पक्षले जोगाइदिएको थियो। एमालेका चार जनाले 'फ्लोर क्रस' गर्दा शाहीले मुख्यमन्त्रीमा निरन्तरता पाएका थिए। फ्लोर क्रस गर्ने तीन जना वैशाख ४ गते मन्त्री भएका थिए।
कांग्रेसले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।