काठमाडाैं- नेकपा (एमाले)का नेता बामदेव गाैतमले शुक्रबार उपप्रधानमन्त्री नियुक्त भएका जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन सञ्चालन गरिरहेको भनी दिएको अभिव्यक्तिको विरोध जनाएका छन्।
उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आफू आश्चार्यचकित भएको बताएका छन्।
'नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्मविपरीत कार्य गर्ने छैन भनी शपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दु:खी भएको छु,' नेता गाैतमले लेखेका छन्, 'नेपालको संविधानको धारा (३) मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषतासहितको राष्ट्र हो। त्यस्तै संविधानको धारा (४) मा स्पष्ट भनिएको छ, अनेकौं विशेषता सहित नेपाल राज्य हो। यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटामात्र राज्य छ त्यो नेपाल हो।'
महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्नेभन्दा अर्को हुन नसक्ने उनले बताएका छन्। 'नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन। राजेन्द्रजीको त्यो मागलाई अस्वीकार र विरोधमात्र गर्न सकिन्छ। प्रधानमन्त्री श्री के.पी. ओलीले राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्यचकित भएको छु,' उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।