फाइल तस्वीर
काठमाडौं– नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरे लगत्तै नेपाल समूहको स्थायी कमिटी बैठक बस्न लागेको हो।
बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए।
बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा उठेका विषयमा छलफल गर्न स्थायी कमिटी बस्न लागेको नेता ज्ञवालीको भनाइ छ।
केन्द्रीय कमिटीको दुई दिन चलेको भर्चुअल बैठकमा ओलीपक्षसँगको वार्तालाई निरन्तरता दिनुपर्ने तर लामो समय कुर्न नहुनेबारे नेताहरुले जोड दिएका थिए।
शुक्रबारको बैठकमा नेता माधव कुमार नेपालले आफूहरुले एकतावद्ध एमाले चाहेको बताउँदै त्यो एकता लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको पक्षमा हुनुपर्ने बताएका थिए।
बैठकमा बोल्दै धेरैजसो नेताले आफूहरु एकताको पक्षमा भएको सन्देश तल्लो तहसम्म प्रवाह हुनुपर्नेमा जोड दिएका थिए। बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षसँग संवाद गरिरहेका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टमाथि धेरैले प्रश्न गरेका थिए। भुसाल र पाण्डेले बिहीबार नै तथा भट्टराई र विष्टले शुक्रबार जवाफ दिएका थिए।
उनीहरुले वार्ताबाट धेरै आशावादी नभए पनि अन्तिम समयसम्म एमालेलाई एकतावद्ध राख्ने प्रयत्न गर्नुपर्ने बताएका थिए।
ओली पक्षले वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनालसहित १२ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ भने अन्य नेतामाथि पनि कारबाहीको तयारी गरेको छ तर एकताप्रयास जारी रहेको भन्दै उक्त पक्षले जारी स्थायी कमिटी बैठकलाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।