फाइल तस्बिर
काठमाडौं- भूमिसुधार, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जाँदाजाँदै महत्त्वपूर्ण निर्णय गरेकी छिन्। उनले बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारको नाममा ल्याउने अन्तिम कानुनी प्रक्रिया पूरा गर्ने निर्णय गरेकी हुन्।
उक्त जग्गा सरकारको नाममा किन नगर्ने भन्दै मन्त्रालयले २१ दिने सार्वजनिक सूचना सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित गर्ने निर्णय मन्त्रालयले गरेको छ।
पूर्वमन्त्री तुम्बाहाङ्फेकाअनुसार समरजंग कम्पनीको नाममा रहेको उक्त जग्गा अबको २१ दिनपछि सरकारको नाममा आउने पक्का भएको छ।
'किनबेच गरेर विभिन्न व्यक्तिकोमा पुगेको जग्गालाई सरकारको नाममा ल्याउन बाँकी कानुनी प्रक्रिया शुक्रबार पूरा गर्ने निर्णय भएको हो,' उनले भनिन्।
उक्त जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण के हो भनेर ती जग्गाधनीलाई सोधिएको थियो, ठेगाना पत्ता लागेकाहरुको घरमै म्याद तामेल भएको थियो। तर, म्याद तामेल गर्दा कतिको घरद्वार पत्ता लागेको थिएन।
उनका अनुसार ठेगाना दिएको मान्छे अन्यत्र बस्ने गरेका रहेछन्। त्यस्तालाई राष्ट्रिय दैनिकमा २१ दिने जानकारी दिएर उचित कारण इमेल वा अन्य माध्यमबाट पठाउन भनिएको छ।
उक्त सूचना शनिबारको राष्ट्रिय दैनिकमा छापिँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।