रघुवीर महासेठ र जुली महतो।
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । संविधानको धारा ७६ को उपधारा २ हुँदै १ का प्रधानमन्त्री भएका ओली अहिले धारा ७६ को ३ अनुसार कामचलाउ प्रधानमन्त्रीको रुपमा रहेका छन्। प्रतिनिधि सभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेको सरकारको नेतृत्व गरेका ओलीले पुराना केही मन्त्रीहरुको स्थानमा नयाँलाई मौका दिए।
ओलीको मन्त्रिमण्डलमा केही यस्ता पुराना अनुहार पनि दोहोरिन लागेका छन्। जसको परिवारभित्रै श्रीमान-श्रीमती दुवैले अवसर पाएका छन्।
रघुविर महासेठ–जुली महतो
प्रधानमन्त्री ओलीको पहिलो मन्त्रिमण्डलमा रघुवीर महासेठ भौतिक पूर्वाधार मन्त्री थिए । उनलाई दोस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा हटाइएको थियो।
महासेठ २०७४ सालको निर्वाचनमा धनुषा–४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। एमाले स्थायी कमिटी सदस्यसमेत रहेका महासेठ लामो समयदेखि केपी शर्मा ओली समूहमा थिए। ओलीले उनलाई भौतिक पूर्वाधार मन्त्रीबाट हटाएपछि उनी माधवकुमार नेपाल पक्षमा लागेका थिए। तर, ओलीले अहिले उनलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी दिने भएका छन्।
रघुवीर मन्त्रिपरिषद्मा भित्रिँदा उनकी श्रीमती भने बाहिरिएकी छन्। प्रतिनिधि सभा विघटनपछि माधव नेपाल पक्षमा लागेकी उनी मन्त्री बन्ने भएपछि ओली पक्षमा लागेकी थिइन्। उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाइएको थियो। उनी समानुपातिक सांसद हुन्।
शेरबहादुर तमाङ-उषाकला राई
अघिल्लो पटक कानुनमन्त्री रहेका तमाङ बोलीका कारण विवादमा परेपछि राजीनामा दिन बाध्य भएका थिए। कानुन मन्त्रालयमा लामो समय काम गर्न नपाएपनि उनले केही शुरुआत गर्न खोजेका थिए। तर, बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थीहरुको बारेमा गलत टिप्पणी गरेपछि उनको सार्वजनिक आलोचना भयो। तयसपछि मन्त्रीबाट बाहिरिए।
उषाकला राई र शेरबहादुर तामाङ।
तत्कालीन नेकपा विवाद बढ्दै गएको अवस्थामा फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी अलग गराउने फैसला सुनायो। प्रतिनिधि सभा विघटनपछि उनी सुरुमा ओली पक्षमा लागेका थिए। त्यसको केही दिनमा माधव नेपाल पक्षमा लागे।
पहिलोपटक मन्त्री बन्दा पनि उनी नेपाल कोटाबाटै परेका थिए। बीचमा उनी नेपाललाई छोडेर ओली पक्षमा आए। ओलीले उनलाई एमालेको पार्टी कार्यालयकाे सचिव बनाए। त्यसपछि उनी ओलीको बचाउमा उभिँदै आएका थिए।
नेपाल पक्षमा रहेकी उनी श्रीमती प्रदेश १ की प्रदेश सभा सदस्य उषाकला राई पनि ओली पक्षमा लागिन्। त्यसको उपहारस्वरुप उनले मन्त्री पाइन्। उषाकला प्रदेश १ को सामाजिक विकास मन्त्री छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।