काठमाडौं- नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले आफूले स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाउन लागेको पुष्टि गरेका छन्। हाल एमालेको केन्द्रीय कार्यालय सचिव रहेका तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी प्रदान गर्न लागेका हुन्।
तामाङसहित एमालेबाट केही मन्त्री थपिँदैछन्। हाल मन्त्रिपरिषद्मा रहेका विष्णुप्रसाद पाैडेल, लीलानाथ श्रेष्ठ, बसन्त नेम्वाङ र कृष्णगोपाल श्रेष्ठबाहेक सबै मन्त्री परिवर्तन हुन लागेका हुन्।
तामाङ ओली क्याबिनेटमा केही समय पहिला कानुन तथा संसदीय मामिला मन्त्री थिए। तर, बंगलादेशमा चिकित्सा पढ्ने छात्राबारे विवादास्पद अभिव्यक्ति दिएपछि तामाङले राजीनामा दिनुपरेको थियो।
कोरोना महामारी चलिरहेको विषम परिस्थितिमा तामाङ स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हाल्दैछन्। उनले आफूलाई महत्वपूर्ण जिम्मेवारी आइलागेको बताए।
नेपाल लाइभसँग उनले भने, 'महामारीको बेला महत्वपूर्ण जिम्मेवारी पाएको छु। यसलाई अवसरका रुपमा लिएर काम गर्ने गर्नेछु।'
सबैकाे साथ र सहयाेगमा खाेप खरिदलाई पारदर्शी बनाउने उनले बताए। सबै नेपालीलाई खाेप लगाउने व्यवस्था मिलाउने कामलाई प्राथमिकता दिने उनको भनाइ छ।
'मेराे लागि चुनाैती र अवसर दुवै हाे। महामारीको अवस्थामा सफल बन्न सकेँ भने मेराे राजनीतिक जीवन अझै माथि पुग्नेछ', तामाङले भने। उनीहरूको शपथ शुक्रबार राति ८ बजे हुने ताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।