फाइल तस्वीर
काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले एकतावद्ध एमाले चाहेको बताएका छन्। आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको दुई दिनदेखि जारी बैठकलाई शुक्रबार सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्।
स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरुको धारणा सुनिसकेपछि बोलेका नेपालले आफू एकतावद्ध एमालेको विपक्षमा नभएको प्रष्ट पारे।
‘हामी एकता चाहन्छौं’, नेपालको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तर, त्यो एकता लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको पक्षमा हुनुपर्छ।’
बैठकमा बोल्दै धेरैजसो नेताले आफूहरु एकताको पक्षमा भएको सन्देश तल्लो तहसम्म प्रवाह हुनुपर्नेमा जोड दिएका थिए। त्यसलाई सम्बोधन गर्दै नेपालले पनि त्यस्तै मन्तव्य राखे।
नेपाल बैठकमा बोल्नेक्रममा स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नमा केन्द्रित भएका थिए। केही बेरपछि उनले लिखित वक्तव्यसमेत सार्वजनिक गर्नेछन्।
बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षसँग संवाद गरिरहेका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टमाथि धेरैले प्रश्न गरेका थिए। भुसाल र पाण्डेले बिहीबार नै तथा भट्टराई र विष्टले शुक्रबार जवाफ दिएका थिए।
उनीहरुले वार्ताबाट धेरै आशावादी नभए पनि अन्तिम समयसम्म एमालेलाई एकतावद्ध राख्ने प्रयत्न गर्नुपर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।