काठमाडौं– फुटको विन्दुमा पुगेको सत्तारुढ नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। बिहीबारदेखि भर्चुअल माध्यमबाट जारी बैठक शुक्रबार पुनः बस्ने भएको हो।
बिहीबार करिब ७ घण्टासम्म चलेको बैठकमा सबै केन्द्रीय सदस्यले बोल्ने क्रम नसकिएपछि शुक्रबार बिहान ११ बजे पुनः बस्ने गरी बैठक टुंगिएको केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन्।
बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ। बिहीबार बिहान ११ बजे सुरु भएको बैठक साँझ ६ बजेसम्म चलेको थियो।
हिजोको बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यहरुले आफूहरु २०७५ जेठ २ को अवस्थामा फर्केर पार्टीलाई एकताबद्ध बनाउन तयार रहे पनि अध्यक्ष केपी शर्मा ओलीले नै एकता नचाहेकाले अब स्पष्ट निर्णय गरेर अघि बढ्न नेतृत्वलाई दबाब दिएका थिए।
उनीहरुले अहिले चलिरहेको वार्ताको प्रक्रिया अनन्तकालसम्म चल्न नसक्ने र एउटा डेडलाइन तोकेर अघि बढ्नुपर्ने बताएका छन्। त्यसपछि पनि वार्ताबाट निकास ननिस्किए पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने उनीहरुको निष्कर्श छ।
बैठकको बीचमा थोरै मन्तव्य राखेका नेता नेपालले आफूलाई ओलीले धोका दिन्छन् भन्ने लागेको सुनाएका थिए। उनले सबै केन्द्रीय सदस्यको धारणा सुनिसकेपछि आफ्नो धारणा राख्ने नेता नेपालले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।