काठमाडौं- जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोपक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेस ,थारुहट आन्दोलनका सबै बन्दी रिह र मुद्दा फिर्ता लिए सरकारमा सहभागी हुने वचन दिएका छन्।
बिहीबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका महन्थ–राजेन्द्रपक्षका नेताहरुले आफ्ना माग र मुद्दा सबै सम्बोधन भए सरकारमा जान कुनै समस्या नभएको बताए।
जसपाका महन्थ, राजेन्द्र, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला आफ्ना माग र मुद्दाका विषयमा छलफल गर्न बालुवाटार पुगेका हुन्।
‘हामीले राखेका अधिकाश माग मुद्धा सम्बोधन भयाे, केही माग मुद्दा पुरा भएको छैन। त्यस विषयमा छलफल गर्न प्रधानमन्त्री ज्यूलाई भेट्न बालुवाटार गएका थियौं,’ छलफलमा सहभागी एक नेताले भने।
तर, जसपा नेतासँगको भेटमा ओलीले तत्काल सरकारमा आउँन आग्रह गरेको ती नेताकाे भनाइ छ। ‘आफ्नो तर्फबाट हामीले राखेका सबै माग र मुद्दा सम्बोधन भए सरकारमा जान्छाैं। सरकारमा जाने भएपछि पार्टीमा साथीहरुसँग सल्लाह गर्नुपर्ने भएकाले केही दिन लाग्न सक्छ,’ उनले भने।
सरकारमा आउँन किन ढिलाई भइरहेको छ भन्ने विषयमा समेत ओलीले जिज्ञासा राखेको थिए। यस्तै, ओली निकट एक स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीसँग जसपा नेताहरुले बन्दी रिहा, मुद्दा फिर्ता र सरकारमा जाने विषयमा छलफल गरेको बताए।
सरकारमा जाने विषयमा जसपा नेताहरुसँग छलफल भएपनि अझै कुनै निर्णय नभएको ती नेताले बताए। जसपा आफ्ना सबै माग र मुद्दा सम्बोधन गराउने रणनीतिका साथै सर्वोच्च अदालतको फैसलालाई पर्खेकाले सरकारमा जान ढिलाइ गरिरहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।