काठमाडाैं- नेपाली कांग्रेसका नेता प्रदीप गिरीले समयमा महाधिवेशन गराउन पार्टी सभापतिमाथि दबाब बढाउन नेताहरुलाई सुझाएका छन्।
बिहीबार पार्टी नेताहरु सम्मिलित भिडिओ संवादमा सभापति शेरबहादुर देउवालाई दबाब दिन नसकेको भन्दै नेताहरुप्रति उनले असन्तुष्टि जनाएका थिए।
‘पार्टी भित्रका कुराहरु पार्टीमा सुनिँदैन भने बाहिर ल्याउनुस्। तपाईंहरु कसरी युवा हुनुभयो?’ उनले भने।
कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ देखि १० का लागि तोकिएको छ। समयमा महाधिवेशन हुने गरी कार्यतालिका कार्यान्वयन भने भएको छैन। जुम मिटिङमा बोल्दै गिरीले जिल्ला जिल्लाबाट मत हालेर भएपनि समयमा महाधिवेशन हुनैपर्ने जिकिर गरे।
कांग्रेस नेता डा शेखर कोइरालाले आयोजना गरेको जुम मिटिङ गिरीसहित सरिता प्रसाई,गुरुराज घिमिरे,प्रदीप पौडेल,अमरेशकुमार सिंह,जीवन परियार,पदम नारायण चौधरी गोविन्द पोखरेल,सुवास पोखरेल बोलेका थिए।
मिटिङमा सहभागी सबैले महाअधिवेशन समयमै गर्नुपर्ने राय दिएका थिए। अन्य छ जना नेताहरुको शुक्रबार बोल्ने गरी आजको मिटिङ रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।