काठमाडाैं- नेपाली कांग्रेस नेता अमरेशकुमार सिंहले कांग्रेसको सम्बन्ध भारतसँग बिग्रिएको टिप्पणी गरेका छन्।
बिहीबार पार्टी नेताहरु सम्मिलित भिडिओ संवादमा बाेल्दै सिंहले भारतसँग सम्बन्ध बिग्रिनुमा पार्टी नेतृत्वको दोष रहेकाे बताए।
पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिमाथि खनिएका सिंहले भने,‘भारतसँग सम्बन्ध बिग्रिएको छ। सुधार्नुपर्छ।’
मधेसमा कांग्रेस कमजोर हुनु तथा महाधिवेशन कार्यतालिका कार्यान्वयन नहुनुमा उनले उपसभापति निधिलाई दोष दिए।
क्रियाशील सदस्यता चयन गर्ने क्रममा एकलौटी गरेको भन्दै सभापति देउवा र उपसभापति निधिप्रति उनी रुष्ट बनेका थिए।
प्रदेश २ का जिल्लामा समायोजन तथा क्रियाशील सदस्यता टुंगिन नसक्नुमा निधि कारक रहेको उनले आरोप लगाए।
संवाद शुक्रबार पनि जारी रहने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।