काठमाडौं– फुटको विन्दुमा पुगेको सत्तारुढ नेकपा एमालेको माधवकुमार नेपाल समूहको भर्चुअल माध्यमबाट गरिएको केन्द्रीय कमिटी बैठक शुक्रबार पुनः बस्ने भएको छ।
बिहीबार करिब ७ घण्टा बसेको बैठक सबै केन्द्रीय सदस्यहरुले बोल्ने क्रम नसकिएपछि शुक्रबार बिहान ११ बजे पुनः बस्ने गरी टुंगिएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
बिहीबार बिहान ११ बजे सुरु भएको बैठक बेलुकी ६ बजेसम्म चलेको थियो। बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ।
बैठकमा बोलेका सबैजसो केन्द्रीय सदस्यहरुले आफूहरु २०७५ जेठ २ को अवस्थामा फर्केर पार्टीलाई एकतावद्ध बनाउन तयार रहे पनि अध्यक्ष केपी शर्मा ओलीले नै एकता नचाहेकाले अब प्रष्ट निर्णय गरेर अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन्। उनीहरुले अहिले चलिरहेको वार्ताको प्रक्रिया अनन्तकालसम्म चल्न नसक्ने र एउटा डेडलाइन तोकेर अघि बढ्नुपर्ने बताएका छन्। त्यसपछि पनि वार्ताबाट निकास ननिस्किए पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने उनीहरुको निष्कर्श छ।
बिहीबार ओलीपक्षसँग अनौपचारिक संवाद गरिरहेका नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले वार्ताबाट आफूहरु त्यति आशावादी नरहेको तैपनि पहल जारी राख्नुपर्ने बताएका थिए। संवादमा रहेका नेताहरु योगेश भट्टराई र गोकर्ण विष्टले भने बिहीबार बोल्ने पालो पाएनन्।
बैठकको बीचमा थोरै मन्तव्य राखेका नेता नेपालले आफूलाई ओलीले धोका दिन्छन् भन्ने लागेको सुनाएका थिए। उनले सबै केन्द्रीय सदस्यको धारणा सुनिसकेपछि आफ्नो धारणा राख्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।