काठमाडौं– विभाजनको संघारमा रहेको नेकपा एमालेका नेता बामदेव गौतमले पनि आफू पक्षीय नेता र बुद्धिजीविहरुसँग छुट्टै छलफल शुरु गरेका छन्।
पार्टी एकता बचाउन भनेर 'एकता अभियान' घोषणा गरेका नेता गौतम पार्टीभित्र देखिएको समस्याका विषयमा सल्लाह र सुझाव लिन भनेर राजनीतिक विश्लेषक, बुद्धिजीवी र आफू निकट नेतासँगको भर्चुअल संवादमा जोडिएका हुन्। बिहीबार दिउँसो ३ बजेदेखि शुरु भएको भर्चुअल संवादमा नेता गौतमले आफ्नो भावी राजनीतिक कदमका विषयमा छलफल गरिरहेका जनाइएको छ।
राजनीतिक विश्लेषक, बुद्धिजीवी पार्टी नेताहरुको सुझावका आधारमा अघि बढ्ने सोचका साथ गौतमले भर्चुअल छलफल आयोजना गरेका उनी निकट एक नेताले जानकारी दिए। बैठकमा प्राप्त सुझाव र सल्लाहका आधारमा गौतमले आगामी राजनीतिक निर्णय लिने ती नेताको भनाइ छ।
सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलापछि ब्यूँतिएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालको गरी फरक २ समूहमा विभाजित भएको छ।
गत फागुन २८ गतेको 'केन्द्रीय कमिटी बैठक'बाट ओलीले वरिष्ठ नेता नेपालसहित उनी पक्षीय नेताहरुको जिम्मेवारी खोसेपछि एमाले २ गुटमा विभाजित भएको थियो । गुटगत गतिविधिले पार्टी फुटकै संघारमा पुगेको अवस्थामा पनि गौतम भने ओली र नेपालमध्ये कुनै पनि पक्षमा स्पष्ट रुपमा खुलेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।