काठमाडौं- देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले ढुङ्गा, गिट्टी, बालुवा, निकासी गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गरेको छ।
सरकारले 'व्यापार घाटा कम गर्ने' भन्ने नाममा चुरे र तराई क्षेत्रमा भएका खानीजन्य र प्राकृतिक सम्पदा ढुङ्गा, बालुवा र गिट्टी निकासी गर्ने घोषणा गर्नु निन्दनीय भएको माेर्चाले बताएको छ।
मोर्चाका अध्यक्ष सीपी गजुरेलले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारको यो निर्णय कार्यान्वयन भयो भने देशको चुरे क्षेत्रमा अनियन्त्रित बाढी-पहिरो जाने, पानीका स्रोतहरु सुक्ने, तराई मरुभूमिमा परिणत हुने, प्राकृतिक सन्तुलन बिग्रने निश्चित भएको बताएका छन्।
यी प्राकृतिक सम्पदाको निर्यातमा प्रतिबन्ध लगाएकै समयमा लुकीछिपी चोरी-निकासी र दोहन हुँदा पनि बाढीले जमीन डुबानमा परेका, जमीन बगाएका र इनार, कुवाहरु सुकेर बस्ती नै सर्नुपर्ने अवस्था आएको थियो मोर्चाले उल्लेख गरेको छ।
'यी तथ्यहरुको पनि बेवास्ता गर्दै गरिएको यो निर्णय तुरुन्त खारेज गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं। अन्यथा, यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी पनि यही सरकारले नै लिनु पर्नेछ', विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।