काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका जनसंगठन प्रमुखहरुले अहिले भइरहेको एकताको हल्लाको अर्थ नभएको बताएका छन्। बुधबार भएको भर्चुअल बैठकमा उनीहरुले त्यस्तो निष्कर्ष निकालेका हुन्।
नेपाल-खनालसहित उक्त पक्षका वार्ता कमिटी संयोजक भीम रावल पार्टीबाट निष्कासित छन्। यस्तो अवस्थामा दोस्रो तहका केही नेता एकतामा सक्रिय हुनुको तात्विक अर्थ नभएको उनीहरुको धारणा छ।
नेपाल-खनाल पक्षीय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार शीर्ष नेताहरुलाई कमजोर पारेर गरिने वार्ताको अर्थ नभएका विषयमा सामूहिक रुपमा आवाज उठेको थियो।
पराजुलीले भने, 'हाम्रो तर्फबाट केही नेताहरु एकताका लागि वार्तामा रहेको सुनिएको छ। तर, नेपाल, खनाल र वार्ता कमिटी संयोजक रावल निकालिनुभएको छ। वार्ताको ढोका बन्द गरेर झ्यालबाट हुने सहमतिले कहीँ पुर्याउँदैन।'
वार्ता र सहमति सबै शीर्ष तहबाटै हुनुपर्नेमा उनीहरुले जोड दिएका छन्। अहिलेको अवस्थाबाट बलियो एकता हुने भ्रमबाट मुक्त हुन आग्रह गर्ने पनि उनीहरुको भनाइ थियो।
बैठकलाई सम्बोधन गर्दै नेता नेपालले विश्वमा कम्युनिष्ट आन्दोल समाप्त हुनुका कारणहरु बताएका थिए। नेपालमा ओली त्यही बाटोमा रहेको उनले उल्लेख गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।