काठमाडौं- नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइए संसद् अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउने चेतावनी दिएको छ।
एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले जस्केलाबाट मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याइए संसद् चल्न नदिने चेतावनी दिए।
'संसद् बहिष्कार गर्छौं। विधि बाहिरबाट आएको अविश्वासको प्रस्ताव मान्य हुँदैन', उनले भने, 'संसद्मा अविश्वासको प्रस्ताव आए सरकारले सदन अन्त्य गर्छ। बजेट अध्यादेश बाट आउँछ।'
उनले अहिलेसम्म मुख्यमन्त्री पोखरेल संविधानको धारा १६८ ( १) अनुसारको एकल बहुमतसहितको रहेको बताए। दुई वा दुई भन्दा बढी दलको सरकारको प्रक्रियामा एमाले तत्काल जाने पक्षमा नरहेको ढकालले बताए।
'जसपाका चार सांसदको अन्तिम फैसला अदालतबाट आउन बाँकी छ। अन्तरिम आदेशकै पक्षमा फैसला आयो भने १६८ (२) अनुसार बहुदलको सरकार बन्छ। त्यसका लागि मुख्यमन्त्रीले फेरि राजीनामा दिएर नयाँ सरकारको रूपमा फेरि शपथ लिनुहुन्छ', ढकालले भने।
लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन बुधबारदेखि सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।