काठमाडौं- नेकपा (एमाले)का महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र सचिव योगेश भट्टराईबीच छलफल भएको छ। दुई नेताबीच उपप्रधानमन्त्री पोखरेलको कार्यकक्ष सिंहदरबारमा छलफल भएको हो।
केपी शर्मा ओली पक्षले माधवकुमार नेपाल पक्षका ११ जना नेताहरुलाई पार्टीबाट निष्कासन गरेको र थप १२ जनालाई पनि निष्कासन गर्नका लागि बैठक आह्वान गरेको पृष्ठभूमिमा दुई नेताबीच छलफल भएको हो।
पोखरेलले पार्टी एकता जोगाउनका लागि भनेर सक्रियता बढाएका छन्। सिंहदरबारमा एक घण्टा भएको छलफल पनि पार्टी एकतालाई कसरी जोगाउने भन्ने विषयमा केन्द्रित रहेको बताइएको छ। नेता भट्टराई पछिल्लो समय 'मध्यमार्ग'मा रहेर दुवै पक्षबीच समन्वय गरिररहेका छन्।
यसैबीच, आज ४ बजे बालुवाटारमा बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठकले यसअघि स्पष्टीकरण सोधिएका १२ जनाबारे निर्णय गर्ने आकलन गरिएको थियो।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली पनि पार्टी विभाजन भएको स्थितिमा नेपाल पक्षका केही नेतालाई आफूसँगै राख्न सकिन्छ कि भन्ने प्रयत्नमा लागेका छन्। सोही अनुसार उनी र उनी पक्षका नेताहरुले संवाद गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।