काठमाडौं– फुटको विन्दूमा पुगेको सत्तारुढ नेकपा एमालेमा पछिल्ला केही दिनयता ‘एकता बचाउन’ भन्दै भइरहेका प्रयासलाई मध्यनजर गरेर बुधबार अपराह्न बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले एकताका लागि अन्तिमसम्म प्रयास गर्ने निर्णय गरेको थियो। बुधबार बिहानै फेरि अर्को बैठक डाकिएको थियो।
एमाले एकता जोगाउने भन्दै दोस्रो तहका नेताहरुबीच तीब्र छलफल चलिरहेको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले भने बैठकको तयारीका लागि केही समय आवश्यक पर्ने भएकाले बिहीबार अपराह्न ४ बजे बस्नेगरी बैठक स्थगित गरिएको बताए।
एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना सांसदलाई साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेपछि एमाले फुट्ने निश्चित भएको टिकाटिप्पणी भइरहेको थियो।
सर्वोच्च अदालतले फागुन २३ गते एमाले ब्युँताइदिएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर माधवकुमार नेपाल पक्षले समानान्तर पार्टी संरचनामो अभ्यास गर्दै आएको छ। पछिल्लोपटक ११ जनालाई निष्काशन नै गरिएपछि नेपालले नयाँ पार्टी दर्ताका लागि तयारी गरेका खबर आइरहेका थिए।
ओली र नेपाल दुवैपक्षका नेताहरुले भने अझै पनि एकता जोगाउन सकिने भन्दै प्रयास गरिरहेका छन्। पछिल्ला दिनमा नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट तथा ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली लगायतका नेताहरुले निरन्तर छलफल गर्दै आएका छन्। छलफलमा सहभागी एक नेताले भने, ‘सकारात्मक वातावरण बनेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।