तुलसीपुर– पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ का विभिन्न गाउँमा महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ।
शनिबार र आइतबार गरी ती दुई वडाका पातेटाकुरा, एकलीलगायतका गाउँमा झाडापखालबाट ८ सय ८७ घरका १ हजार २ सय २ जना बिरामी परेको शान्तिनगर गाउँपालिकाका वडाध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए।
बिरामीमध्ये एक जनाको नेपालगञ्ज, १४ जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुर र १० जनाको सिटी अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। उनीहरु सबैको अवस्था सामान्य रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ। अन्य सबै बिरामी उपचारपछि घर फर्किसकेका छन्।
यसैबीच प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। स्थानीय माइली खानेपानी मुहानको पानी वितरण बन्द गराइनुका साथै आइतबार पूर्णरुपमा सरसफाइ गरिएको छ। प्रभावित सबै घरमा तुलसीपुरबाट ट्याङ्करमा पानी लगेर वितरण गरिएको छ।
आज पनि सो क्षेत्रका विद्यालय बन्द गरिएको छ। प्रभावित क्षेत्रमा अहिले नेपाली सेनाका चिकित्सक, सरकारी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी औषधिसहित उपचारमा संलग्न छन्। आइतबार प्रभावित सबैको घरमा गाउँपालिकाले बाल्टिन, साबुन तथा पानीमा राख्ने औषधि वितरण गरेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।