काठमाडौं– विवेकशील साझा पार्टीले आफ्ना संस्थापक संयोजक उज्ज्वल थापाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
मंगलबार अपराह्न बसेको पार्टीको आकस्मिक बैठकले थापाको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।
विवेकशील साझाले थापाको स्मृति तथा सम्मानका लागि १३ औं दिनको पुण्य तिथिमा कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पंति र सदस्यहरूलाई आह्वान समेत गरेको छ।
साथै, यही बिचमा पार्टीमा 'उज्वल थापाको जीवन र विचार' विषयमा छलफल र बहस चलाउने निर्णय समेत गरिएको छ।
दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ ४:२५ बजे निधन भएको हो।
बैठकपछि शोक वक्तव्य जारी गर्दै विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले थापाले अंगालेको 'सुसंस्कार, अहिंसा र निष्ठाको मार्ग' अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडि बढ्ने पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।