काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ। ठाकुर–महतो पक्षले उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगलाई समेत बुझाइसकेको छ।
जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवपक्षले महन्थ तथा राजेन्द्रसहित नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेलगत्तै महन्थ–राजेन्द्र पक्षले पनि अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो। यो पक्षले उपेन्द्र यादवको नाम हटाउन भनेको छ।
जसपाको महन्थ-राजेन्द्र पक्षको पार्टी कार्यालयमा बसेको बैठकले उपेन्द्रलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जसपाका एक कार्यकारिणी समिति सदस्यले जानकारी दिए।
पार्टी गुटको बैठक बसेर नेताहरुलाई स्पष्टीकरण सोध्नुका साथै पार्टीबाट निष्कासन गर्ने काम उपेन्द्रले नै सुरु गरेको महन्थ–राजेन्द्र पक्षका नेताहरुको आरोप छ।
महन्थ–राजेन्द्र पक्षको बबरमहलमा मंगलबार बसेको बैठकले यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो । बैठकको निर्णयानुसार यादवलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा बुझाइएको हो। आयोगमा पत्रको दर्ता नम्बर १३४२ रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।