काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले आर्थिक वर्ष २०७८/७९ को बजेटको स्वागत गरेको छ। सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटले कोभिड-१९ महामारीका कारण शिथिल बनेको मुलुकको अर्थतन्त्र र सामाजिक जनजीवनका हरेक क्षेत्रमा सहुलियत एवं राहतको व्यवस्थाको साथै अर्थतन्त्रको पुनरुत्थानका लागि गरिएको प्रक्षेपणसहितको पहल व्यावहारिक र सकारात्मक भएको महासंघको ठहर छ।
यसैगरी स्वदेशी उद्योगका लागि सीपयुक्त जनशक्तिको आपूर्ति र परम्परागत पेसा एवं सीप विकासका लागि विभिन्न किसिमका तालिमको व्यवस्था गरिने विषय बजेट वक्तव्यमा उल्लेख हुनु उत्साहजनक रहेको महासंघले जनाएको छ। बहुमूल्य गहना निर्माणका लागि कालिगढ तालिम दिइएमा युवा पुस्ताले उच्च पारिश्रमिक पाउने रोजगारी स्वदेशमा नै प्राप्त गर्नसक्ने महासंघको बिश्वास छ।
‘महामारीका कारण अर्थतन्त्रका विविध क्षेत्रले काम नै गर्न नसकेकोले आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको अवस्थामा महामारीमाथि नियन्त्रण गरी अर्थतन्त्रलाई सूचारू तुल्याई वार्षिक ६.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने अठोट र प्रतिबद्धतासहितको प्रक्षेपणले निजी क्षेत्रको मनोबल बढाएको छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सुर्खेतमा स्वदेशी रत्न, पत्थरको प्रशोधन तथा प्रवर्द्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा परियोजना सञ्चालन गर्ने कार्यक्रम बजेटमा समावेश हुनुले आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, रोजगारी विस्तार, राजस्व अभिवृद्धि आदि क्षेत्रमा ठोस योगदान पुग्ने महासंघले बताएको छ।
‘बहुमूल्य गहनाको निर्यात विस्तारको प्रशस्त सम्भावना रहेको भए पनि त्यसतर्फ भने बजेटले छुन नसकेकोले आगामी मौद्रिक नीतिमार्फत् त्यसको सम्बोधन हुने महासंघको अपेक्षा छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यसले निकासी पैठारीबीचको चरम विभेद हटाउनसमेत सहयोगी भूमिका खेल्ने श्विास महासंघको छ।’
सुनको चरम अभावले यस व्यवसायको भविष्यमाथि नै गम्भीर चुनौती उत्पन्न हुने गरेको उल्लेख गर्दै महासंघले सुनको आयातमा विगत लामो समयदेखि कायम रहेको परिमाणात्मक बन्देज र एकाधिकारको अन्त्य गर्न पनि पहल हुने अपेक्षा व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।