काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ।
जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवपक्षले महन्थ तथा राजेन्द्रसहित नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेलगत्तै महन्थ–राजेन्द्र पक्षले पनि अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको घोषणा गरेको छ।
जसपाको महन्थ–राजेन्द्र पक्षको पार्टी कार्यालयमा बसेको बैठकले उपेन्द्रलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जसपाका एक कार्यकारिणी समिति सदस्यले जानकारी दिए।
‘उपेन्द्रजीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय भइसकेको छ। पार्टीबाट निष्कासन गरेको पत्र बन्दै छ, केही बेरमा सार्वजनिक हुन्छ,’ ती कार्यकारिणी समिति सदस्यले भने, ‘उपेन्द्रजीकै कारण जसपा विभाजनको स्थितिमा पुगेको छ। त्यसको भागिदार उहाँ नै हो।’
पार्टी गुटको बैठक बसेर नेताहरुलाई स्पष्टीकरण सोध्नुका साथै पार्टीबाट निष्कासन गर्ने काम उपेन्द्रले नै शुरु गरेको दाबी उनले गरे।
महन्थ–राजेन्द्र पक्षको बबरमहलमा बसेको बैठकले यादवलाई पार्टीबाट निकाल्नुका साथै सरकारमा जाने नेताहरुको विषयमा समेत छलफल गरेको ती कार्यकारिणी समिति सदस्यले बताए।
केपी शर्मा ओली नेतृत्वको सरकारमा ८ मन्त्री र २ राज्यमन्त्री पाउने निश्चित भइसकेको जसपा नेताहरुको भनाइ छ। यद्यपि सरकारमा जाने नेताहरुको नाम भने टुंग्याउन बाँकी रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।