काठमाडौं- जनता समाजवादी पार्टी(जसपा)महन्थ ठाकुर-राजेन्द्र महतोपक्षका नेता लक्ष्मणलाल कर्णले कुनै व्यक्तिको सनकका भरमा पार्टीबाट निष्कासन गर्न नमिल्ने प्रतिक्रिया दिएका छन्। आफूहरु जसपामै रहने बताउँदै कर्णले कुनै व्यक्तिले गरेको कारबाहीले अर्थ नराख्ने टिप्पणी गरे।
‘बैठक नबसेर कुनै व्यक्तिलाई सनक चल्यो भन्दै पार्टीबाट निकाल्न मिल्छ? उहाँहरुले के आधारमा पार्टीबाट निकाल्नु भयो?,' कर्णले नेपाल लाइभसँग भने,‘ पार्टीमा व्यक्ति केही होइन। पार्टी विधि-विधान र पद्धतीले चल्छ। उपेन्द्रजीले पार्टीबाट निकाल्नुको कुनै अर्थ छैन।’
जसपा अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई मंगलबार पार्टीबाट निकालेका छन्। उक्त पक्षले पार्टीबाट निकाले लगतै निर्वाचन आयोगलाई समेत जानकारी दिएका छन्। यस्तै महन्थ–राजेन्द्रपक्षले समेत अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।