फाइल तस्वीर
काठमाडौं–नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि बोलाइकको बैठक करिब २ घन्टा ढिला गरि सुरु भएको हो।
यसअघि आइतबार आन्तरिक कारण भन्दै तथा सोमबार लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनका कारण बैठक स्थगित गरिएको थियो।
आजको बैठकमा विशेष गरी शनिबार अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षा तथा पार्टीको आन्तरिक वातावरणबारे छलफल हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको बताउँदै उनले आजको बैठकमा ती सांसदलाई गरिने कारबाहीबारे केही निर्णय हुन सक्ने बताए।
स्थायी कमिटी बैठकले १२ जनामध्ये कतिपयलाई कारबाही गर्नसक्ने कार्यालय सचिव तामाङले बताए। लिखित रुपमा कसैले जवाफ नपठाए पनि कतिपयले मौखिक रुपमा नेतृत्वसँग छलफल गरेको उनले बताए।
यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिसकिएको बताइएको छ।
स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।