काठमाडौं– नेकपा (एमाले)को आन्तरिक विवाद समाधान गर्ने उद्देश्यले दोस्रो तहका नेताहरुले छलफललाई तिव्रता दिएका छन्।
पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको गतिविधिका कारण पार्टी फुटको संघारमका पुगेको भन्दै नेताहरु एकताको पक्षमा देखिएका हुन्। पार्टीमा देखिएको विवाद समाधान गर्ने उद्देश्यले दुवै पक्षका दोस्रो तहका नेताबीच सोमवार राति याक एण्ड यति होटलमा छलफल भएको नेता सुवास नेम्वाङले बताए।
पार्टीलाई एक बनाउने विषयमा दुई पक्षबीच वार्ता भएको बताउँदै नेता नेम्वाङले छलफल सकारात्मक दिशामा अघि बढेको जानकारी दिए। राति अवेरसम्म चलेको छलफलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी भएको नेम्वाङले बताए।
मंगलबार एमालेको स्थायी कमिटी बैठक बस्दै छ। आजको बैठकले नेपाल पक्षका केही नेतालाई कारबाही गर्न सक्ने बताइएको छ।
यसअघि एमालेले वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ।
यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो। आजको बैठकमा ती सांसदलाई गरिने कारबाहीबारे केही निर्णय हुन सक्नेछ।
स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।