काठमाडौं- सरकारले यस वर्षको विद्यालय शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा गठित कार्यदलले गत बिहीबार (जेठ १४) एसईई परीक्षाको विकल्प सहितको प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनका आधारमा बोर्डले शुक्रबारदेखि नै परीक्षाको मोडालिटीका विषयमा छलफल अगाडि बढाइएकाे थियाे।
कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा शिक्षा मन्त्रालयलाई वैकल्पिक मूल्यांकनका आधारमा परीक्षा सञ्चालन गर्न सिफारिस गरिएकाे थियाे।
सोहीअनुसार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको र त्यहीअनुसार निर्णय भएको वन तथा वातावरणमन्त्री प्रेम आलेले बताए।
बोर्डले कोरोनाको दोस्रो लहर आउनुअघि १३ जेठदेखि एसईई र २६ गतेदेखि १२ कक्षाको परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो। यद्यपि, कक्षा १२ काे परीक्षाबारे भने निर्णय भएकाे छैन।
गएको वर्ष पनि कोरोना भाइरसको महामारीका कारण निर्धारित परीक्षा हुन सकेको थिएन र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गरिएको थियो। तर, आन्तरिक मूल्यांकनको क्रममा केही विद्यालयहरुले बदमासी गरेर विद्यार्थीको क्षमताभन्दा बढी मूल्यांकन गरेको आरोप लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।