काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभामा एक सांसद थपेको छ। लुम्बिनी प्रदेशमा सोमबार भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वार दृगनारायण पाण्डे विजयी भएसँगै राष्ट्रिय सभामा कांग्रेसको सिट संख्या सात पुग्ने भएको हो।
१३ सांसद रहेको कांग्रेसले २०७६ माघमा सात सांसद गुमाएको थियो। दुई वर्षे कार्यकाल सकिएर सुरेन्द्रराज पाण्डे, सरिता प्रसाई, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव र विन्दादेवी आले रानाको सांसद पद सकिएको थियो।
कांग्रेसका राष्ट्रिय सभामा एक सांसद बढाउन लुम्बिनीमा विपक्षी दलको गठबन्धन बनेको थियो। वैशाख १९ मा एमालेको प्रदेश सांसदबाट राजीनामा दिएका पाण्डेलाई गठबन्धनको साझा उम्मेदवार बनाइएको थियो। कांग्रेससहित माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल पक्ष, जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाले उनलाई मत दिएका थिए।
माओवादी परित्याग गरेका चन्द्रबहादुर खड्कालाई एमालेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षले उम्मेद्वार बनाएको थियो। पाण्डेले प्रतिस्पर्धी खड्कालाई ५४६ मतभारले हराएका हुन्।
पाण्डेले ४ हजार १४० मत ल्याएर विजयी भए। प्रतिद्धन्द्धी खड्काले ३ हजार ६१२ मत पाए। प्रदेश सभाबाट ८३ जना र स्थानीय तहबाट २१७ जना मतदाता थिए।
कुल ३०० जना मतदातमा ३ जना स्थानीय तहका मतदाता भने उपस्थित भएनन्। प्रदेश सभाका एक सदस्यबाट र स्थानीय तहका एक मतदाताको मत बदर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।