काठमाडाैं- राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट रिक्त एक पदका लागि भएको उपनिर्वाचनमा स्थानीय तह तर्फका तीन मतदाता अनुपस्थित भएका छन्।
सोमबार भएको निर्वाचनमा बाँकेका २ र गुल्मीका एक मतदाता अनुपस्थित भएका हुन्। स्थानीय तहतर्फ बाँकेको नेपालगञ्जका मेयर धवलसमशेर राणा, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साह र गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशाेककुमार थापाले मतदानमा अनुपस्थित भएका हुन्।
स्थानीय तहबाट २१७ र प्रदेश सभाबाट ८३ मतदाता रहेकामा २९७ जनाले मतदान गरेका छन्।
मतदानका लागि निर्वाचन आयोगले दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकेको थियो। मतदानको समय सकिएको छ। अब मत गन्ने तयारी भइरहेको छ।
अहिले केहीबेरपछि मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार छन्। पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।