काठमाडौं– नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा मन्त्री रहेका ६ जना नेतालाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।
सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद पुनर्गठन हुँदा मन्त्री बनेका ६ जनालाई कारबाही गर्न सिफारिस गरिएको नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले जानकारी दिए।
भौतिक पूर्वाधार मन्त्री तथा प्रदेश कमिटी सचिव राजेन्द्र रावल, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला मन्त्री पूर्णा जोशीलाई कारबाहीका लागि सिफारिस गरिएको थापाले जानकारी दिए।
यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनकुमारी चौधरी र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई पनि कारबाहीका लागि सिफारिस गरिएको थापाले जानकारी दिए।
यसअघि एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहभागी भएका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको थियो।
तर, नेता माधव कुमार नेपाल पक्षका (बहुमत) सांसदहरुले सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेनन्। एमालेको (ओली पक्ष)ले समर्थन फिर्ता लिने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन भएको थियो।
पुनर्गठनका क्रममा सरकारमा सहभागीहरुलाई प्रदेश कमिटीले २४ घण्टे स्पष्टीकरण समेत सोधेको थियो। तर, मन्त्रीहरुले स्पष्टीकरण नबुझाएको थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।