काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन्।
सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ढकालले नेकपा (एमाले) र जनता समाजवादी पार्टी(जसपा)लाई विभाजन गराउने मनशायका साथ कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको बताए। दलीय व्यवस्थामा अरु दलका सांसदको समर्थन छ भन्नु गैर लोकतान्त्रिक भएको भन्दै उनले कांग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गरेको आरोप लगाए।
‘आगामी आम निर्वाचनमा जसपा र एमालेलाई विभाजन गर्न आफू प्रधानमन्त्री हुने सर्तमा नै यी पार्टीहरु विभाजन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अरु पार्टीको आन्तरिक जीवन र मामिलामा हात हाल्ने, भाँजो सिर्जना गर्ने र पार्टी विभाजित गर्ने मनशायका साथ नेपाली कांग्रेसले अरुको घर झगडा गराएर यो खालको काममा लाग्नेकुरा एकदम गलत कुरा हो,’ उनले भने, ‘दलीय व्यवस्थामा अरु दलको समर्थन मलाई छ भन्ने हाक्काहाक्की कसरी नेपाली कांग्रेसका नेतृत्वले भन्न सक्छ? यो भन्दा गैर लोकतान्त्रिक कुरा अरु केही हुनसक्छ जस्तो मलाई लाग्दैन।’
मन्त्री ढकालले संविधानको धारा ७६ को उपधारा ५ को निर्दलीय कोणबाट व्याख्या गर्नु नहुने उनले बताए। देशमा बहुदलीय शासन प्रणाली रहेको उल्लेख गर्दै यस प्रणालीभित्र निर्दलीय आचरण अनुरुपको राजनीति गर्न खोज्नु प्रतिगमन भएको उनले बताए । उनले भने ‘धारा ७६(५)को जुन दाबीको कुरा आयो, त्यसलाई मान्छेहरुले निरपेक्ष र निर्दलीय कोणबाट व्याख्या गर्न खोजेका छन्। बहुदलीय शासन प्रणाली हाम्रो देशमा छ। यसले गर्दा दलीय शासन प्रणाली भित्र निर्दलीय आचरण र आकांक्षा अनुरुपको राजनीति फर्काउँछु भनेर जसले नेतृत्व गर्छ। त्यसले अग्रगमनको कुरा गर्नु नै वास्तवमा प्रतिगनमनको साधनमा चढेर अग्रगमनको कुरा गर्ने कुरा यो आफैँमा विरोधाभाषपूर्ण कुरा हो।’
मन्त्री ढकालले ताजा जनादेशमा जानुको विकल्प नभएको बताए। सरकार स्वास्थ्य, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित निर्वाचन गराउन अगाडी बढ्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।