काठमाडौं- साेमबार बस्ने भनिएको नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगित भएको छ। साेमबार बिहान १० बजे बालुवाटारमा बस्ने भनिएको बैठक मंगलबार बिहान ११ बजे बालुवाटारमै बस्नेगरी स्थगित भएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
केही नेताहरु लुम्बिनीमा हुन लागेकाे राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन जानुपर्ने भएकाले बैठक स्थगित गरिएकाे तामाङले जानकारी दिए।
बैठकमा विशेष गरी शनिबार अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षा तथा पार्टीको आन्तरिक वातावरणबारे छलफल हुने उनको भनाइ छ।
यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको बताउँदै उनले अब बस्ने बैठकमा ती सांसदलाई गरिने कारबाहीबारे केही निर्णय हुन सक्ने तामाङले बताए।
स्थायी कमिटी बैठकले १२ जनामध्ये कतिपयलाई कारबाही गर्नसक्ने कार्यालय सचिव तामाङले बताए। लिखित रुपमा कसैले जवाफ नपठाए पनि कतिपयले मौखिक रुपमा नेतृत्वसँग छलफल गरेको उनले बताए।
यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिसकिएको बताइएको छ।
स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।