काठमाडाैं- अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले आगामी आर्थिक वर्षको बजेट कोभिड महामारीको चुनाैतीलाई सामना गर्न केन्द्रित रहेको बताएका छन्।
शनिबार अध्यादेशमार्फत् सार्वजनिक गरिएको बजेटबारे जानकारी दिन आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले महामारीलाई केन्द्रमा राखेर बजेट ल्याएको बताएका हुन्।
'सरकारले महामारीलाई बिर्सेर राजस्वको लक्ष्य बढायो भन्ने आरोपमा सत्यता छैन,' उनले भने, 'कोभिड महामारी नियन्त्रण र रोकथाम सरकारको पहिलो प्राथमिकतामा छ। कोभिडको चुनाैतीलाई सामना गर्नकै लागि बजेट केन्द्रित गरिएको छ।'
कोभिड महामारी छ भनेर राजस्व नै नउठाउने कुरा नहुने उनको भनाइ छ। यथार्थपरक रुपमा नाै राजस्व लक्ष्य राखिएको उनले बताए।कोभिड महामारीबीच पनि अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले काम गरिरहेको उनले दाबी गरे।
'अहिले हाम्रो प्रमुख लक्ष्य नागरिकलाई कोरोना खोप उपलब्ध गराउनु हो। हामी तत्काल बजेट ल्याउन पहल गरिरहेका छाैं, यसका लागि सरकार प्रतिबद्ध भएर लागेको छ,' अर्थमन्त्री पाैडेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।