नेपाली कांग्रेसका नेता, समाजसेवी एवं साहित्यकार जीवनचन्द्र कोइरालाको गत वैशाख २९ गते कोरोना संक्रमणका कारण निधन भयो। २०१७ साल असारमा जन्मिएका उनी २०४९ सालमा तत्कालीन काठमाडौं महानगरपालिका-३४ को वडा अध्यक्ष निर्वाचित भए। उनले २०४९-५४ सम्म वडा अध्यक्षको जिम्मेवारीमा काम गरेका थिए।
कोइरालाले साझा प्रकाशनको सञ्चालक समिति सदस्य भएर पनि एक कार्यकाल काम गरेका थिए। हाल भने उनी नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सदस्य थिए।
कोइराला वडा अध्यक्ष भएकै समयमा हरिबोल भट्टराईलगायतको अगुवाइमा बानेश्वर क्याम्पसको स्थापना भयो। नेपालमा अहिलेसम्म योग र प्राकृतिक चिकित्सा स्वास्थ्य सेवाको विकासमा पनि कोइरालाको भूमिका महत्त्वपूर्ण रह्यो।
योग तथा प्राकृतिक चिकित्सा वरिष्ठ विशेषज्ञ डा. हरिप्रसाद पोखरेल स्वर्गीय कोइरालालाई यसरी सम्झन्छन्ः
जीवनचन्द्र कोइराला बहुआयामिक व्यक्तित्व हुन्। मूलतः लेखन र सम्पादनका क्षेत्रमा उनको सक्रियता बढी रह्यो। समाजका विभिन्न तह र तप्कामा रहेका समाजेवीका बारेमा उनले थुप्रै स्मृतिग्रन्थ पनि लेखेका छन्।
कोइरालाले ‘सामयिक सन्देश’ नामक पुस्तकमार्फत् विश्वेश्वरप्रसाद कोइरालाका प्रारम्भिक समयदेखि अन्तिमसम्मकै महत्त्वपूर्ण भाषण र लेखको सँगालो प्रकाशन गरेका थिए। यस्तै, तुलसीमेहर श्रेष्ठ स्मृतिग्रन्थ, पुष्करसमशेर स्मृतिग्रन्थ, भीमबहादुर तामाङ स्मृतिग्रन्थ, सुन्दरराज चालिसे स्मृतिग्रन्थ, योगेन्द्रमान शेरचन स्मृतिग्रन्थ, कर्मयोगी बद्रीविक्रम थापा स्मृतिग्रन्थ, स्वामी प्रपन्नाचार्य स्मृतिग्रन्थलगायत ३८ वटा स्मृतिग्रन्थ प्रकाशन गरे।
कोइरालाले सुरूआती दिनमा आफ्नै मौलिक लेखनमा कलम चलाएका थिए। पछि मौलिक लेखनमा रमाउन सकेनन्।
मैले उनलाई सुझाव पनि दिएँ, ‘अब, सम्पादन र संकलनका काम धेरै भए, मौलिक रचनाको क्षेत्रमा लाग्नुपर्छ।’ तर, उनले मौलिक लेखन लेखौँला तर अहिले समाजमा ओझेलमा परेका र उल्लेखनीय काम गरेकाहरूलाई अगाडि ल्याउनैपर्छ भने।
उनी राजनीतिका क्षेत्रमा पनि सक्रिय थिए। वि.सं. २०३६ सालमा ल क्याम्पस पढ्दादेखि नै उनको राजनीतिक सक्रियता बढेको हो। राजनीतिक सक्रियतासँगै २०४९ सालमा तत्कालीन काठमाडौं महानगरपालिका वडा नम्बर ३४ मा वडा अध्यक्षमा निर्वाचित भए।
नेपाली कांग्रेसमा आस्थाको राजनीति गर्नेमा अन्य पार्टीका व्यक्तिले पनि आदरले उनको नाम लिएको मैले देखेको/सुनेको छु। यसको कारण उनी राजनीतिको अतिवादी चिन्तनबाट मुक्त भएर सेवामुलक राजनीतिमा लागेरै हो।
उनले सम्पादन गरेका र खोजेका किताब नेपाली कांग्रेसको मुख्य पुस्तकालयमा राख्नुपर्ने र सबैले पढ्नुपर्ने छन्। विपी, गणेशमान, कृष्णप्रसाद भट्टराईलगायत व्यक्तिसँग सम्बन्धित लेख, रचना संकलन गरेका थिए। त्यसको अभिलेखीकरण गर्ने कोइरालाको काम अपूरो रह्यो।
डा. हरिप्रसाद पोखरेल
यस्तै, विभिन्न संघसंस्थामा रहेर पनि समाजसेवाको काममा उनी संलग्न रहे। लगभग २०४९ सालतिर अहिलेको सुन्धारानजिकै बागदरबारमा एउटा कोठा मिलेको थियो। त्यहाँ योग र प्राकृतिक चिकित्साप्रेमी भेला भएर यसलाई अगाडि बढाउनेबारे पनि चर्चा गर्थ्याैं। त्यतिबेला योग र प्राकृतिक चिकित्साको चर्चा अत्यन्त कम थियो। छँदै थिएन भन्दा पनि फरक पर्दैन।
म पनि नेपालभर लगभग ७० भन्दा बढी जिल्लामा घुमेर प्राकृतिक चिकित्सा विधिको प्रचारप्रसार गरेर काठमाडौं आइपुगेको थिएँ। २०४० सालपछि मेरो काठमाडौं आउनेक्रम अलि बढेको थियो। त्यही क्रममा कर्मयोगी बद्रिविक्रम थापा र जीवनचन्द्र कोइराला सुन्धारा पुगेका थिए। र, योग र प्राकृतिक चिकित्साको एउटा संस्था थियो, बद्रिविक्रम थापा त्यसमा भर्खर अध्यक्ष भएका थिए। त्यहीँ नै थापाले जीवनचन्द्रसँग मेरो परिचय गराए।
पहिलो परिचयबाटै हामी नजिकियौं। त्यहीँबाटै भेटघाटको क्रम पनि बाक्लियो। त्यही सेरोफेरोमा कोइरालाले योगको आसन प्रणायम् प्रशिक्षण दिनुपर्छ भनेर लागे। र, उनले अहिलेको वडा नम्बर ३१, भीमसेनगोलामा एउटा गोदाम कोठा (अहिले किमकम क्लबको जिम हल) मा योग आसन सुरू गरेका थिए। र, त्यही क्रममा योगको बारेमा उनले मसँग अलि बढी चासो राखे।
दुई जनाको भेट निरन्तर बाक्लिँदै गएपछि योग र प्राकृतिक चिकित्साबारे नेपालमा केही काम अगाडि बढाउने निधो गर्यौं। त्यसबारे छलफल र कुराकानी पनि भइरह्यो। म योग र प्राकृतिक चिकित्साको अभियानमा लागिसकेको थिएँ। र, एकै ठाउँमा बसिरहने स्वभाव ममा थिएन। यात्रामा हिँडिरने र त्यसबाटै योग र प्राकृतिक चिकित्साको प्रचारप्रसार गरिरहन्थें।
एक दिन कर्मयोगी बद्रिविक्रम थापाले रमाइलो पारामा भने, ‘मियो घुम्यो भने दाइँ हुँदैन, मियो एक ठाउँमा बस्नुपर्यो। गोरु घुम्नुपर्यो।’
पटक-पटक थापाले ‘तँ एक ठाउँमा बसेर काम गर्नुपर्छ’ भनेपछि म पनि कहीँ न कहीँ सहमत भएँ। ‘कहीँ हामी हिँड्दैछौं, बाटो मेट्दैछौं भएको त छैन?’ नेपाल, भारतका विभिन्न ठाउँमा पुगेर प्राकृतिक चिकित्साबारे जति प्रचारप्रसार गरियो मान्छे खोज्दा त भेट्टाउने ठाउँ पनि छैन। अहिलेजस्तो प्रविधिको विकास भएको थिएन। त्यसैले एक ठाउँमा बसेर यो अभियानलाई अगाडि बढाउन जरुरी छ भन्ने लाग्यो।
कोइरालासँगको निकटता संकल्पमा परिणत भयो। र, प्राकृतिक स्वास्थ्य संस्था दर्ता गर्ने र त्यही संस्थाको माध्यमबाट योग र प्राकृतिक चिकित्सा सेवा नेपालमा सुरू गर्न हामी लागिपर्यौं।
त्यतिबेला आफ्नै भवन भएको र स्थायी रूपमा योग र प्राकृतिक चिकित्सा सेवा दिने कुनै काम भएको थिएन। कहीँ थोरै तालिम भयो होला। कसैले छोटो शिविर सञ्चालन गरे होलान्, तर स्थायी संरचना थिएन।
योग र प्राकृतिक चिकित्सा स्वास्थ्य सेवालाई विस्तार गर्न र अहिलेको अवस्थासम्म ल्याइपुर्याउन बद्रिविक्रम थापा, जीवनचन्द्र कोइराला, स्याङ्जाका पूर्वसांसद शंकरप्रसाद पाण्डेलगायतको महत्त्वपूर्ण भूमिका रह्यो।
अब कहाँ सुरू गर्ने भन्ने कुराकानी भयो। त्यसका लागि कात्यायनी मन्दिरनजिकैको सार्वजनिक क्षेत्र रोजाइमा पर्यो। कात्यायनी मन्दिरयता एक/दुई वटा घर थिए। बाँकी खाली जमिन थियो। त्यहीँ एउटा परम्परागत ढुंगेधारा पनि थियो। ढुंंगेधारा वरिपरि चुरोट र लागुऔषध खानेहरूको अड्डाजस्तै थियो। त्यस्तो बेला त्यहीँबाटै काम सुरू गर्ने योजना बनायौं। केही स्रोत काठमाडौं महानगरपालिका र वडाले उपलब्ध गरायो। कोइराला वडा अध्यक्ष भएकाले संस्था स्थापनाका लागि अझ सहज भयो।
संस्था स्थापनाको प्रस्तावलाई कोइरालाले सम्बन्धित निकायमा सही ढंगले पुर्याए। त्यसपछि नेपाल सरकारका विभिन्न निकायमा जाने क्रम पनि जारी रह्यो। र, यो अस्पतालको संरचना सुरू भयो। नेपालमा आफ्नै भवन भएको पहिलो सामुदायिक अस्पतालका रूपमा प्राकृतिक स्वास्थ्य अस्पतालको जन्म भयो। यो प्राकृतिक स्वास्थ्य संस्थाअन्तर्गत सञ्चालित छ।
काम अगाडि बढाउँदै जाँदा विभिन्न समस्या नआएका पनि होइनन्। हामीसँग तत्काल जमिनको औपचारिक प्रमाणपत्र थिएन। र, पनि हामीलाई व्यक्तिगत होइन, समाजका लागि काम गरेको आत्मबलले ऊर्जा थपिदियो। अस्पताल निर्माणको ६ वर्षपछि नेपाल सरकार मन्त्रिपरिषद् बैठकमार्फत् यो जमिनको भोगाधिकार दिइयो।
जमिन संस्थाको नाममा भएपछि मात्रै नक्सा पास गर्न पायौं। नक्सा पास नै नगरेर भवन निर्माण गरेका थियौं। यो बाध्यता थियो। हामीलाई काम गर्नु नै थियो। कामबाहेकको विकल्प हामीसँग थिएन।
अहिले प्राकृतिक चिकित्साको पहुँच उच्च शिक्षा र विश्वविद्यालयको पाठ्यक्रमसम्म पुगिसकेको छ। विज्ञान संकायमा प्लस टु पास गर्नेका लागि साढे पाँच वर्षको बीएनवाईएस र एमडी कोर्ष हुन्छ। तर, नेपालमा यसको सुरूआत भइसकेको छैन।
फाइल तस्बिर: सम्मान ग्रहण गर्दै जीवनचन्द्र कोइराला।
यसअघि भारतमा सुरू भएको थियो। हामीले गाउँ-गाउँ पुगेर विद्यार्थी खोज्दै पढ्न जान प्रेरित गरिरह्यौं। जसकारण अहिले नेपालमा ६० देखि ७० जनाभन्दा बढी प्राकृतिक चिकित्साका बीएनवाईएस पाठ्यक्रम पास गरेका रजिस्टर चिकित्सक छन्। एमडी गरेका प्राकृतिक चिकित्सक पनि नेपालमा छन्। यसरी अभियानलाई संस्थागत गर्दै ल्याउनुमा प्राकृतिक स्वास्थ्य संस्थाको ठूलो देन छ।
नेपालमा प्राकृतिक चिकित्सा पढेर आएका करिब ९५ प्रतिशत कहीँ न कहीँ हामी र हाम्रा गतिविधिसँग प्रभावित भएर अगाडि बढेका छन्।
यसबारेका गतिविधि बढ्दै गएपछि हामी प्राकृतिक चिकित्सा शिक्षालाई राष्ट्रियस्तरमै मान्यता दिलाउन लागिपर्यौं। शिक्षा मन्त्रालयले त प्राकृतिक चिकित्सा भन्ने शब्द पनि सुनेको थिएन। यसबारे कुरा गर्दा मन्त्रालयमा खानपान बदलेर, माटो, पानी, हावा, घामले पनि उपचार हुन्छ भनेर सोधिएको थियो।
तर, हाम्रो निरन्तरको प्रयासपछि स्वास्थ्य मन्त्रालयमा प्राकृतिक चिकित्साको एउटा समिति बन्यो। त्यसमा म अध्यक्ष थिएँ।
‘प्राकृतिक चिकित्सा विश्वभर मान्यताप्राप्त चिकित्सा हो, त्यसैले यसलाई सरकारी मान्यता दिनुपर्दछ’ भन्ने प्रस्ताव राख्यौं। त्यसपछि मात्रै मन्त्रिपरिषद्को बैठकबाट एलोपेथी, आयुर्वेद, होमियोपेथी, युनानीपछि नेपालको पाँचौ स्वास्थ्य सेवाको विधाका रूपमा प्राकृतिक चिकित्साले राष्ट्रिय मान्यता पायो। र, असार २० गतेलाई राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका रूपमा मनाउन थालियो।
योग, आयुर्वेद र प्राकृतिक चिकित्सालाई नेपालको राष्ट्रिय चिकित्सापद्धति भन्दा फरक पर्दैन। किनभने, यी हाम्रै माटोमा जन्मिएर विकसित भएका हुन्।
योग र प्राकृतिक चिकित्सा स्वास्थ्य सेवालाई विस्तार गर्न र अहिलेको अवस्थासम्म ल्याइपुर्याउन बद्रिविक्रम थापा, जीवनचन्द्र कोइराला, स्याङ्जाका पूर्वसांसद शंकरप्रसाद पाण्डेलगायतको महत्त्वपूर्ण भूमिका रह्यो। त्यसैले त नेपालको रैथाने प्राकृतिक चिकित्सा विधिलाई पुनःजागरणको मूल प्रवाहमा ल्याउन सक्यौं।
प्रस्तुति :पुष्पा केसी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।