काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन्। आज(आइतबार) साँझ ५ बजे बस्ने बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
आजकोे बैठकमा विशेष गरी शनिवार अध्यादेशमार्फत ल्याइएको बजेटको समीक्षा तथा पार्टीको आन्तरिक वातावरणबारे छलफल हुने उनको भनाइ छ।
यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको बताउँदै उनले आजको बैठकमा ती सांसदलाई गरिने कारबाहीबारे केही निर्णय हुन सक्ने उनले बताए।
स्थायी कमिटी बैठकले १२ जनामध्य कतिपयलाई कारबाही गर्नसक्ने कार्यालय सचिव तामाङले बताए। लिखित रुपमा कसैले नपठाए पनि कतिपयले मौखिक रुपमा नेतृत्वसँग छलफल गरेको उनले बताए।
यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिसकिएको बताइएको छ।
स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।