काठमाडौं- नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले प्रदेश सभा सदस्य पठानसिंह बोहरालाई स्पष्टीकरण सोधेको छ। संसदीय दलका नेता प्रकाशबहादुर शाहले बोहरालाई आइतबार साँझ ५ बजेसम्म स्पष्टीकरण बुझाउन भनेका छन्।
शाहले बोहरासमेत सहभागी भएको संसदीय दलको बैठकबाट गरिएका निर्णयविरुद्ध जथाभावी किन बोलेको भनेर सोधेका छन्। बोहराले दलको निर्णयविरुद्ध भ्रम सिर्जना गरेको भनिएको छ।
दलका अन्य सदस्य तथा पार्टी पंक्तिलाई समेत उक्साउने र भड्काउने दुराशयले गुटबन्दी गरेको स्पष्टीकरण पत्रमा भनिएको छ। बोहराले दलकाे एकता र गरिमालाई छिन्नभिन्न बनाउने प्रयत्न गरेको भनिएको छ। शाहले शुक्रबार नै बोहरालाई स्पष्टीकरण सोधेको पाइएको छ।
सांसद बोहरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन् भने शाह माधवकुमार नेपाल पक्षका हुन्। सुदूरपश्चिम संसदीय दलमा नेपाल पक्ष बहुमतमा छ।
यसअघि ओली पक्षका कर्ण थापा अध्यक्ष रहेको एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले शाहसहित कृष्णराज सुवेदी र माया भट्टलाई स्पष्टीकरण सोधी साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको थियो।
यस्तै, हालै सरकारमा सहभागी भएका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का,आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी तथा राज्यमन्त्रीहरु अर्चना गहतराज, मना साउद र चुनकुमारी चौधरीलाई ओली पक्षले शनिबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।