काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) बाबुराम भट्टराई–उपेन्द्र यादव र महन्थ ठाकुर–राजेन्द्र महतो दुबैपक्षले २४ घण्टे स्पष्टीकरण नदिने भएका छन्।
बाबुराम–उपेन्द्रपक्षले ठाकुर तथा महतोसँगै लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाले ७२ घण्टे स्पष्टीकरणको जवाफ नदिएपछि शनिवार २४ घण्टे स्पष्टीकरण सोधेका हुन्। यदि २४ घण्टे स्पष्टीकरण नदिए पार्टीबाट निष्काशन दिने धम्की समेत उनीहरुले दिएका छन्।
बाबुराम–उपेन्द्रपक्षले सोधे लगत्तै ठाकुरले यादवलाई ७२ घण्टे स्पष्टीकरण नदिएको भन्दै २४ घण्टे स्पष्टीकरण सोध्दै जवाफ नदिए पार्टीबाट निकाल्ने धम्की थिएका छन्।
दुबैपक्षले एकले अर्कोलाई २४ घण्टे स्पष्टीकरण सोधेर पार्टीबाट निकाल्ने धम्की दिइसकेका छन्। त्यो धम्की दिएको म्याद आइतबार बेलुका सकिँदै छ। तत्कालीन नेकपा त्यसपछि एमालेमा चलेको जस्तै स्पष्टीकरण र पार्टीबाट निकाल्ने रोग जसपामा सरेको छ।
त्यो स्पष्टीकरण सोध्ने र पार्टीबाट निकाल्ने जसपाको प्रतिष्पर्धाले पार्टी एक हुने अवस्था कम हुँदै गएको छ। बहुमत पार्टीको निर्णयले महन्थ ठाकुर,राजेन्द्र महतोसहित चार जनालाई २४ घण्टे स्पष्टीकरण सोधिसकेकाले त्यसको जवाफ दिनुपर्ने नेता नवराज सुवेदीले बताए।
तर महन्थ ठाकुरले सोधेको २४ घण्टे स्पष्टीकरण आफूहरुले दिन जरुरी नभएको उनले बताए। ‘महन्थजी सहित चार जनाले पार्टी विधान विपरित अनुशासन उल्घंन गरेकाले ७२ घण्टे स्पष्टीकरण सोधेका थियौं। त्यसको जवाफ दिने छाटा देखाउनु भएन। त्यसपछि २४ घण्टे स्पष्टीकरण सोधिएको छ,’ सुवेदीले भने, ‘त्यसको जवाफ नदिएमा पार्टी बहुमतले निष्काशन गर्ने कारवाही गर्ने प्रक्रिया अघि बढ्छ।’
यस्तै, महन्थ–राजेन्द्रपक्षका एक नेताले बाबुराम–उपेन्द्रपक्षले चार जना नेतालाई सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ नदिने बताए। पार्टी विभाजन गर्नेगरी आफूभन्दा वरिष्ठ नेताहरुलाई स्पष्टीकरण सोध्ने नैतिकता समेत नभएको ती नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।